मोरङका तीन अग्रज पत्रकार सम्मानित

विराटनगर २० वैशाख । नेपाल पत्रकार महासंघ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा तीन जना अग्रज पत्रकारहरुलाई सम्मानित गरेको छ ।

६० वर्ष नाघेका अग्रज पत्रकारहरुलाई महासंघ मोरङले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्मान गर्दै आएको छ । यस बर्ष पत्रकारहरु केदार चौहान, केदार रिजाल र ज्योति शर्मालाई सम्मान गरिएको हो । पत्रकारहरुलाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का लगायतले सम्मान पत्र एवं दोसल्ला ओढाएर सम्मानित गर्नु भएका थियो ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले समाजलाई परिवर्तन गरी मुलुकको विकासमा योगदान पुर्याउन सञ्चारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनु भयो । उहाँले सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारको संरक्षणमा सञ्चारकर्मीले योगदान पुर्याउनु पर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख खापुङले पत्रकारले राष्ट्रिय एकता वलियो बनाइ समाजमा सद्भाव कायम राख्न कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालले पत्रकारिता जिम्मेवारीपूर्ण पेशा भएकोले मुलुकमा शान्ति सुरक्षा एवं सद्भाव कायम महत्वपूर्ण योगदान पुर्याएको दावी गर्नुभयो । नेपाल पत्रकार महासंघका महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशीका अध्यक्ष भरतबहादुर खड्काले सञ्चारकर्मीको कलमको कारण लोकतन्त्र एवं गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको विचार राख्नुभयो ।

कार्यक्रममा महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुईटेल, मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेल, महासंघकी मोरङ अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल, प्रेस युनियनका मोरङ अध्यक्ष वेदराज पौडेल, प्रेस चौतारी नेपालकी मोरङ अध्यक्ष चीना थापा, गैरसरकारी संस्था मोरङ अध्यक्ष विष्णु शर्मा पन्त र सम्मानित अग्रज पत्रकार चौहान लगायतले सरकारले सञ्चार क्षेत्रमाथि पछिल्लो समयमा गरेको विभेदको विरोध जनाएका थिए ।