विराटनगर १५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशले लोकतान्त्रिक मूल्य, संसदीइ मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले आपत्तिजनक रहेको प्रतिक्रिया दिनु भएको छ । ‘नेपाल सरकारद्वारा संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ ।’ यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायिकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण रहेको विज्ञप्तिमा भनिएको छ । ‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ,’ कांग्रेसले भनेको छ ।
सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।