कोशीका निर्माण व्यवसायीद्वारा प्रदेश सरकारकाे ध्यानाकर्षण

विराटनगर १४ वैशाख । कोशी प्रदेशमा निर्माण उद्योग गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारलाई गुहारेका छन् ।

तत्काल हस्तक्षेप गरेर समस्याको समाधान निकाल्ने पर्ने अपेक्षासहित उनीहरु सरकारको शरणमा पुगेका हुन् ।

इन्धनजन्य सामग्रीको लगातार मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र लागत असन्तुलनका कारण पूर्वाधार निर्माण क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेको निष्कर्षसहित निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले सोमबार औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ ।

महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीको नेतृत्वमा गएको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारलाई भेटेर निर्माण क्षेत्रको वर्तमान अवस्था गम्भीर बनेको जानकारीसहितको ज्ञापनपत्र बुझाएको हो ।

महासंघ प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकी, द्धितीय उपाध्यक्ष सन्तोष ढुंगाना, महासचिव रमेश कार्की, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्र लगायतका पदाधिकारी सहभागी टोलीले समस्या समाधानका लागि तत्काल नीतिगत निर्णय आवश्यक रहेकोमा जोड दिएको छ । टोलीले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्रीसँग अलगअलग भेट गरेर ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायीहरूले मध्यपूर्वमा जारी द्वन्द्वको प्रभाव नेपालसम्म आइपुगेको बताएका छन् । डिजेल, पेट्रोल र मट्टितेलजस्ता इन्धनको मूल्यमा भएको निरन्तर वृद्धि निर्माण क्षेत्रमा सिधा असर पारिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।