विराटनगर १४ बैशाख । शान्तिका लागि साझा अभियान (कोक्याप) कोशी प्रदेश कार्यालयले माेरङकाे ग्रामथान गाउँपालिका वडा नं. १ र ७ का गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी सञ्चालन गरेको व्यवसायिक तालिम कार्यक्रम पछि आवश्यक समाग्री हस्तान्तरण गरेकाे हाे।
साेमबार आयोजित एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष गुणावती देवी थारूले चौधरी र गच्छदारलाई एक–एक थान मोटर ब्यान्डिङ मेसिन तथा ड्रिल मेसिन, साथै माझीलाई एक थान इन्टरलक सिलाइ मेसिन हस्तान्तरण गर्नुभएकाे हाे। उक्त कार्यक्रम दुई दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको समापनसँगै सम्पन्न गरिएको थियो।
संस्थाले वडा नं. १ का काशीराम चौधरी र वडा नं. ७ का दिनेश कुमार गच्छदारलाई तीन महिने इलेक्ट्रो–मेकानिकल व्यवसायिक तालिम तथा वडा नं. १ कै देवनारायण माझीलाई सिलाइ–कटाइ सम्बन्धी व्यवसायिक तालिम प्रदान गरेको थियो।
तालिम पूरा गरेपछि सहभागीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले आवश्यक उपकरण हस्तान्तरण गरिएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष थारूले सीपमूलक तालिमसँगै उत्पादनमुखी उपकरण उपलब्ध गराइनु सकारात्मक पहल भएको उल्लेख गर्दै यसले विपन्न परिवारको आर्थिक अवस्था सुधारमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
वडा नं. १ का अध्यक्ष सुरेश कुमार माझी र वडा नं. ७ का अध्यक्ष वीरेन्द्र चौधरीले पनि सहभागीहरूलाई प्राप्त सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। उनीहरूले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा सहभागी काशीराम चौधरीले तालिमले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो। दिनेश कुमार गच्छदार र देवनारायण माझीले पनि तालिम र समाग्री सहयोगले आत्मनिर्भर बन्ने बाटो खुलेको बताउनुभयाे । उनीहरूले आगामी दिनमा आफ्नै व्यवसाय सञ्चालन गरी परिवारको जीवनस्तर उकास्ने लक्ष्य राखेका बताएका छन् ।
काेक्यापका कार्यक्रम अधिकृत प्रकाश परियारले संस्थाको उद्देश्य सीप विकाससँगै जीविकोपार्जनमा प्रत्यक्ष सहयोग पुर्याउनु रहेको स्पष्ट पार्दै तालिमपछिको समाग्री सहयोगले सहभागीहरूलाई तत्काल व्यवसाय सुरु गर्न प्रेरित गर्ने बताउनुभयो।
कोक्यापले सञ्चालन गरेको यस प्रकारको कार्यक्रमले स्थानीय तहमा स्वरोजगार प्रवर्द्धन, सीप विकास तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयाे।