विराटनगर १२ वैशाख । विराटनगर महानगरपालिका वडा नंं ८ को पहलमा प्रयोगविहिन रहेको मैदानलाई खेलमैदानमा रुपान्तरण गरिएको छ । मैदानको स्तरोन्नतरी गरि वडा कार्यालयले खेलकुदका गतिविधिहरु सञ्चालन हुने गरिएको पूर्वाधार तयार गरिरहेको छ ।
करिब एकदशक अघिसम्म सो मैदानमा सरसमान खरिदविक्रीका लागि सर्वसाधारणको बुधहटिया लाग्थ्यो । जहाँ स्थानीय र आसपासका मानिसहरु सरसमान विक्रीवितरण तथा खरिदका लागि भेला हुन्थे । तर, बुध हटिया कटहरी गाँउपालिकातिर स्थानान्तरण भएपछि उपयोगविहीन यो जग्गामा विराटनगर महानगर र वडा नम्बर ८ को सक्रियतामा खेलकुद मैदान निर्माण भएको छ ।
कोशी प्रदेश सरकारले प्याराफिटका लागि १४ लाख रुपैया विनियोजन गरेपछि ठेक्का प्रक्रियामा ९ लाख रुपैया खर्च भएको छ । बजेट अभावका कारण प्याराफिट निर्माणको काम समेत अधुरो नै रहेको छ । त्यसैगरि, स्थानीयको श्रम र क्लबले सहयोगमा मैदानको स्तरोन्नतिको काम हुदै आएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

वडाले पनि पटकपटक गरि मैदानको स्तरोन्नतीका लागि ४ लाख रुपैया खर्च गरिसकेको छ । वडाले खेलकुद शिर्षकको बजेट अहिले खेलमैदान निर्माणमा खर्च गरिरहेको छ । वडाध्यक्ष पोखरेलले भन्नुभयो,‘ वर्षेनी खेलकुदका लागि क्लब, खेलकुद आयोजनालाई सरसमान दिने तर सो बजेटबाट खास उपलब्धी नदेखिएपछि वडाभित्र खेलमैदान निर्माण गर्ने लक्ष्य सहित अहिले खेलकुदको बजेट मैदान निर्माणमा खर्चिएका छौं ।’
खेलमैदान निर्माणमा स्थानीय हाम्रो मर्निङ युवा क्लबको पनि सक्रियता रहेको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कुनै समय अब्यवस्थित र शौचका लागि पायक झै देखिएको चौर यतिबेला खेलकुद, सांगितीक कार्यक्रम र भेलाका लागि दरिलो स्थान बन्दै गएको छ ।
०७९ सालको स्थानीय निर्वाचनपछि एक वडा एक खेलमैदानको अवधारण अनुरुप खेल मैदान तयारी हुदै आएको छ । मैदानको स्तरोन्नतीका लागि करिब १ हजार बढि टिपर माटो पुरेर सम्याइएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुार अहिले मैदानको मुख्यद्धार र प्याराफिट निर्माण गराउनका लागि प्रदेश सरकार, संघीय सरकार महानगरलाई आग्रह गरिरहेको छु । वडाको एकल प्रयासले काम गर्न गाह्रो छ । यसलाई विराटनगरको एउटा सुन्दर मैदान बनाउन महानगर, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । खेलमैदानलाई आफ्नो कार्यकाल भित्र सुविधा सम्पन्न बनाउनका लागि तीनै तहको सरकारसँग बजेटका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।
मर्निङ फुटबल क्लबका अध्यक्ष गोकुल भट्टराईका अनुसार विराटनगरभित्र मैदानको कमी भइरहेको अवस्थामा यसले त्यसको अभाव कम गराउने विश्वास लिइएको छ । अहिले मैदानमा माटो पुरेर सम्याउने काम भइरहेको र मैदानमा घाँस उम्रने क्रम सुरु भएको उनले बताउनुभयो । क्लबका अध्यक्ष भट्टराईले भने, ‘महानगरले यस्ता मैदानलाई निर्माण गराउनका लागि ध्यान दिनुपर्ने हो । साथ सहयोग गर्नुपर्ने हो । अहिले वडास्तरबाट काम भइरहेको छ। यतिको मैदान निर्माणसंगै अब विस्तारै घास पलाउन थालेको छ । आउनेदिनमा खेलकुदका कार्यक्रम यहाँ गराउन सक्दा सहिद मैदानलाई बोझ हल्का हुनसक्छ ।’
मैदानको लम्बाई १ सय १० मिटर र चौडाइ ८० मिटर रहेको वडाध्यक्ष पोखरेलले बताउनुभयो । मैदान निर्माण सम्पन्न पछि ९ ए साइड फुटबलदेखि हिसान, प्याब्सनका खेलकुद प्रतियोगिता,राष्ट्रपति रनिंग शिल्ड जस्ता प्रतियोगिता गराउन सकिने उहाँले बताउनुभयो ।
