विराटनगर ९ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउनु भएको छ ।
कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा उहाँले युवाहरुलाई पार्टी, इतिहास, विगतमा गरेका कार्यहरु, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको छ ।
सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो । उहाँले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा नेकांको सरकार रहेकोले यसले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले नेकांलाई स्मार्ट बनाउन क्रियाशिल सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको हो भन्दै पार्टीका जेष्ठ सदस्यहरुको सदस्यता एतिहासिक भएकोले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पार्नुभयो । उहाँले आगामी १५ औ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको हो भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काउने दावी गर्नुभयो । उहाँले पार्टीमा चार पुस्तालाईसंगै मिलाएर संगठन मजवुद गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पार्टीका उपसभापति पुष्पा भुसालले कार्यकर्ताहरुलाई हालै सम्पन्न निर्वाचनको परिणामवाट निराश नहुन आग्रह गर्नु भयो । उहाँले संगठनलाई सुदृढ वनाई पार्टीलाई आगाडि वढाउनुपर्नेमा जोड दिनु भयो ।
महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो एवं सुदृढ बनाउन क्रियाशिल सदस्यहरुले पार्टीको नीतिका विषयमा घरघरमा जनतालाई जानकारी दिन जानु जरुरी रहेको बताउनुभयो । पार्टीमा उत्साह र नयाँ जीवन ल्याउन वडास्तरीय सदस्य डिजिटल अद्यावधिक गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुर्नजीवन दिन वडास्तर देखि केन्द्रसम्म अद्यावधिक गर्न लागिएको जानकारी दिनुभयो ।