विराटनगर ४ वैशाख। विराटनगरमा भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्रोत नखुलेको रकम बरामद भएको छ । रकम ओसारपसारमा संलग्न एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वार्टर रानीबाट खटिएको सशस्त्र प्रहरीका डीएसपी तिलकबहादुर खड्का नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाट ५ लाख १ सय १५ रूपैयाँ बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकललाई सशस्त्रले बिहीबार दिउँसो २ बजेतिर नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
त्यस क्रममा मोटरसाइकल चालक भारत बिहारको अररिया जोगवनी–१० का ३० वर्षीय आनेशकुमार चौधरीको साथबाट स्रोत नखुलेको ५ हजार १ सय १५ रूपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रका अनुसार चौधरीको साथबाट एक हजार दरका दुई सय र पाँच सय दरका छ सय थान तथा एक सय दरको एउटा र १० रूपैयाँको एक एवं पाँच रूपैयाँको एक थान नोट बरामद भएको छ ।
उक्त रकमको स्रोत खुलाउन नसकेपछि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बरामद भएको नगद र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित चौधरीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।
इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।