विराटनगर ३ वैशाख । झापा ११ विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । सहिद रंगशालामा गएराती सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो ।
झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६७ औं मिनेटमा गरेको प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो ।
झापाले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोट्र्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।