विराटनगर १ वैशाख। अन्तर्राष्ट्रिय स्तरमा चुलिँदै गएको द्वन्द्व र त्यसको प्रभावस्वरूप इन्धन तथा कच्चा पदार्थको मूल्यमा भएका तीव्र वृद्धि अहिले नेपालका विकास निर्माण क्षेत्रमा देखिन थालेको छ ।
विशेषगरी कोशी प्रदेशमा निर्माण उद्योग गम्भीर संकटतर्फ धकेलिएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार अहिलेको अवस्था सामान्य आर्थिक दबाब नभई समग्र निर्माण प्रणाली नै धरापमा पर्ने संकेत हो ।
निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत इन्धनदेखि निर्माण सामग्रीसम्मको अस्वाभाविक मूल्यवृद्धिले निर्माण उद्योगलाई लगभग ठप्प पार्ने अवस्था सिर्जना भएको जनाएको छ ।
महासंघका प्रदेश महासचिव रमेश कार्कीले जारी गरेको विज्ञप्तिमा डिजेल, पेट्रोल, मट्टितेलजस्ता इन्धनका साथै बिटुमिन, सिमेन्ट र डण्डीजस्ता अत्यावश्यक सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिले निर्माण लागत नियन्त्रण बाहिर पुगेको उल्लेख गरिएको छ । यसका साथै बजारमा देखिएको कृत्रिम अभावले निर्माण कार्य सञ्चालन गर्नै कठिन भएको बताइएको छ ।
महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीका अनुसार अहिले निर्माण उद्योग बहुआयामिक समस्याबाट ग्रसित छ ।
कच्चा पदार्थको अभाव, क्रसर उद्योगसँग सम्बन्धित जटिलता र नियामक निकायहरूको अस्पष्ट तथा अस्थिर नीतिले निर्माण क्षेत्रलाई झन् असहज बनाएको उनको भनाइ छ । उनले यसअघि पटकपटक नेपाल सरकार र सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराइए पनि समस्या समाधानतर्फ कुनै ठोस कदम नचालिएकोमा असन्तुष्टि जनाए ।
निर्माण व्यवसायीहरूको सबैभन्दा ठूलो गुनासो मूल्य समायोजन प्रणालीप्रति केन्द्रित देखिन्छ ।
हाल ठेक्काको मूल्य समायोजन नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित मूल्य सूचकांकका आधारमा हुने व्यवस्था छ । तर, व्यवसायीहरूका अनुसार उक्त सूचकांकले वास्तविक बजार मूल्यको प्रतिबिम्ब गर्न सकेको छैन ।
बजारमा निर्माण सामग्रीको मूल्य आकासिएको अवस्थामा पनि सूचकांकमा घटेको देखिने प्रवृत्तिले व्यवसायीहरू थप घाटामा परेको उनीहरूको भनाइ छ ।