विराटनगर १ वैशाख । मोरङको जहदा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणले विकास निर्माण, सेवा प्रवाह, गाउँपालिकाको नीति तथा कार्यक्रमका विषयमा प्रश्न उठाएका छन् ।
बजेट बनाउँदा युवालाई समेट्न, सार्वजनिक जग्गाको अतिक्रमण रोक्न सर्वसाधारणले माग गरेका छन् । पूँजिगत खर्च कम भएको पनि नागरिकले प्रश्न गरेका छन् ।
प्रशिक्षकको व्यवस्था गरी खेलाडीलाई प्रशिक्षण दिन, सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउने व्यवस्था मिलाउन, विद्यालयको शिक्षामा सुधार गर्न सर्वसाधारणले माग गरेका छन् ।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकिय अधिकृत रोशन कुमार गुप्ताले समस्या र आवश्यकताको तुलनामा साधन स्रोत कम भएका कारण अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भयो ।
खेलकुद प्रतियोगिताहरु निरन्तर भइरहेको, बजेटमा युवा लक्षित कार्यक्रम समावेश गरेको उहाँहरुले जानकारी दिनुभयो । भदौमा भएको जेनजी विद्रोह र फागुन २१ को निर्वाचनका कारण पूँजिगत खर्च केही कम भएको उहाँहरुको भनाइ छ ।
करिव ६५ करोड रूपैयाँको बजेटमा ४० करोड रूपैयाँ भन्दा बढी तलव, भत्तामै खर्च हुने गरेको भन्दै उहाँहरुले न्यून बजेटकै कारण विकास निर्माणका काम सोचे जति गर्न नसकिएको जानकारी दिनुभयो ।
