विराटनगर २८ चैत । मोरङ प्रहरीले चैत महिनामा आपराधिक घटनासँग सम्बन्धित १७९ वटा मुद्दा दर्ता गरेको छ । अपराधमा संलग्न ११७ अभियुक्त पक्राउ परेका छन् ।
चैत महिनाको हालसम्म जिल्लामा विभिन्न आपराधिक घटनासँग सम्बन्धित १७९ वटा मुद्दा दर्ता भएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार अपराधमा संलग्नमध्ये ११७ जना अभियुक्त पक्राउ परेका छन् ।
फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ‘दर्ता भएका मुद्दामध्ये बैंकिङ कसुर, लागुऔषध र ज्यानसम्बन्धीका धेरै छन्,’ लामिछानेले भने, ‘यो तथ्यांकले पछिल्लो समय मोरङमा अपराधको स्वरूप कस्तो बन्दै गएको छ भन्ने संकेत गर्छ ।’ लागुऔषध नियन्त्रण अभियानअन्तर्गत १३ वटा मुद्दा दर्ता भएकामा लागुऔषध ओसापसार र कारोबारमा संलग्न १ जना महिलासहित २२ जना पक्राउ परेको उनले बताए ।
प्रहरीले चैत महिनाको हालसम्ममा १७५ ग्राम ब्राउन सुगर (खैरो हेरोइन), ४३१ किलो गाँजा, २६ हजार ३११ थान प्रतिबन्धित ट्याब्लेट र १ ग्राम चरेस बरामद गरेको छ । लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि ‘क्यान’ अभियानलाई तीव्र पारेर सिमावर्ती क्षेत्रमा निगरानी र सुधारात्मक गतिविधि बढाइएको प्रहरीको भनाइ छ ।
यही अवधिमा मोरङ प्रहरीले दुईवटा जघन्य अपराधको सफल अनुसन्धान गरेको छ । विराटनगर महानगरपालिका–१५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको शव फेला परेको दुई घण्टाभित्रै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।
कोमलकुमारीको हत्यामा संलग्न उनकै श्रीमान ३५ वर्षीय रोशन साह र शव व्यवस्थापनमा सहयोग गर्ने रोशनका दाजु ४६ वर्षीय दीपेन्द्र साह पक्राउ परेका हुन् । रोशनले चैत ५ गते पत्नीको हत्या गरेर शव व्यवस्थापनमा दाजुको सहयोग लिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।
हातखुट्टा बाँधेर तन्नामा पोको पारी विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीनजिक रहेको कल्भर्टमुनि फालिएको अवस्थामा चैत १० गते साँझ महिलाको शव फेला परेको थियो । उक्त शव कोमलकुमारीको भएको पत्ता लगाएको प्रहरी हत्यामा संलग्न उनका पति रोशन र शव व्यवस्थापनमा सहयोग गर्ने जेठाजु दीपेन्द्रलाई तत्कालै पक्राउ गर्न सफल भएको हो ।
त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा चैत ६ गते बिहान बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साह बेहोस अवस्थामा फेला परे । उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरिदिए ।
घटनाको सूक्ष्म अनुसन्धान गरेको प्रहरीले दुर्घटनामा परेर उनको मृत्यु भएको पत्ता लगायो । उनलाई ठक्कर दिने सवारीसाधन र चालकको पहिचान गर्न प्रहरी सफल भयो । ५ दिनपछि चालकलाई पक्राउ गर्दै ठक्कर दिने सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको डीएसपी लामिछानेको भनाइ छ । दुवै घटनामा प्राप्त सफलताले प्रहरीको अनुसन्धान क्षमतामा सुधार आएको पुष्टि हुन्छ ।
फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विभिन्न अपराधमा संलग्न भएका कारण अदालतबाट दोषी ठहर भएर सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका ठूलो संख्याका प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको छ ।
चैत महिनाको हालसम्म कैद तथा जरिबाना भुक्तान नगरिकन फरार भएका ८४ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट १४ वर्ष ७ महिना २५ दिन कैद र ५ लाख २ हजार ३०५ रुपैयाँ जरिबाना असुल भएको छ । यसले दण्डहीनता अन्त्य गर्दै पीडितलाई न्यायको प्रत्याभूति दिलाउने दिशामा प्रहरी सक्रिय रहेको देखाउँछ ।
खुला सिमानाको फाइदा उठाउँदै हुने चोरी तस्करी नियन्त्रणमा पनि मोरङ प्रहरीले कडाइ गरेको छ । भन्सार छली गरेर हुने अवैध ओसारपसार नियन्त्रणमा प्रहरी सक्रिय बनेको हो । चैत महिनामा मात्रै १ करोड ४४ लाख ३३ हजार ६५८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको डीएसपी लामिछानेको भनाइ छ ।
प्रहरीले अवैध रुपमा ओसारपसार हुँदै गरेको अवस्थामा मोटर्स पाट्र्स, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर तथा पेय पदार्थ, मरिच र हल्दीलगायतका वस्तु बरामद गरेर भन्सार बुझाएको हो । तस्करीमा प्रयोग गरिएका ९ वटा सवारीसाधन र तस्करीमा संलग्न ६ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी लामिछानले दिए । ‘चोरी तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीयदेखि जनप्रतिनिधि र अन्य निकायसँग समन्वय गर्दै कारबाही तीव्र पारिएको छ,’ उनले भने ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउन पनि प्रहरी सक्रिय छ । मापसे तथा लापसे गरेर सवारी चलाउने ११ जना चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । ट्राफिक नियमको उल्लंघन गर्ने अन्य सवारी चालकहरूसमेत कारबाहीमा परेका छन् ।
चैत महिनाको हालसम्म १ हजार ३५५ सवारीसाधन कारबाहीमा परे । ट्राफिक नियम उल्लंघनको कसुरमा चालकलाई जरिबाना तिराउँदा १४ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । ट्रकदेखि मोटरसाइकलसम्मका सवारीसाधन ट्राफिक उल्लंघनअन्तर्गतको कारबाहीमा परेका छन् ।
सेवा प्रवाह सुधार र नागरिकमैत्री सेवा प्रदान गर्न तथा नागरिक–प्रहरी सम्बन्धलाई अझ उचाइ दिन जिल्लाका प्रत्येक प्रहरी युनिटमा ‘नागरिक सहजकर्ता’को व्यवस्था गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार सेवाग्राहीलाई सहजीकरण गर्नका लागि प्रत्येक प्रहरी इकाईमा ‘नागरिक सहजकर्ता’को व्यवस्था मिलाइएको छ । विचौलियाको प्रभाव कम गर्न अनावश्यक रूपमा कार्यालयमा आउने व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिकासँग सहकार्य गर्दै कोशी राजमार्ग तथा मुख्य बजार क्षेत्रमा ९ वटा सीसी क्यामेरा थप गरिएको छ । सीसी क्यामेराले सुरक्षा निगरानीलाई थप मजबुत बनाएको एसपी कटवालको भनाइ छ । उनका अनुसार हिरासतमा रहेका थुनुवालाई हरेक शनिबार तनाव व्यवस्थापन र पुनस्र्थापनाका लागि प्रशिक्षण दिने गरिन्छ । पुनः अपराधमा नफर्किने वातावरण सिर्जना गर्ने उद्देश्यले प्रशिक्षण दिने गरिएको उनले बताए ।
विशेष गरेर प्रहरीले विराटनगरसहित मोरङमा गुन्डागर्दीमा संलग्नको अभिलेख तयार पारेको छ । चोरी तस्करी, लागुऔषधको ओसारपसार र कारोबार, सीमा अपराध, ट्राफिक नियमको उल्लंघनजस्ता कैयौं चुनौतीलाई चिर्न अझ प्रभावकारी र दीर्घकालीन रणनीतिका साथ प्रहरीले काम गर्ने एसपी कटवालले बताए । मोरङ प्रहरीले अपराध नियन्त्रणदेखि सेवा सुधारसम्मका क्षेत्रमा देखाएको सक्रियता उल्लेखनीय रहेको सरोकारवाला बताउँछन् ।
भारतसँग सीमा जोडिएको मोरङको धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारले पछिल्लो समय शान्ति सुरक्षाको अवस्था एकदमै मजबुत एवं प्रभावकारी रहेको बताए । उनका अनुसार सीमा क्षेत्रको ठूलो समस्या भनेको चोरी तस्करी हो । ‘पहिले–पहिले तस्करीको धन्दा चलाउनेको दोहोरीलत्ताले सीमा क्षेत्रका बासिन्दा हैरान थिए । तस्करको गिरोहविरुद्ध सर्वसाधारणले बोल्न सक्ने अवस्था थिएन । सुरक्षा निकायको उपस्थिति मजबुत बनेपछि तस्करी रोकिएको छ ।
मोरङ प्रहरीले अपराधविरुद्ध आक्रामक हिसाबले ठूला एवं विशेष अपरेशन चलाइरहेको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षालाई मध्यनजर गर्दै चलाइएको कारबाहीबाट प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ ।