विराटनगर २७ चैत । विराटनगरमा शुक्रबारदेखि सुरु भएको ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा विराटनगर हब र राजविराज हबले विजयी सुरुवात गरेका छन् ।
नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरले नेपाल क्रिकेट फाउन्डेसन ११ (एनसीएफ) लाई ६० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
२० ओभरको खेल भए पनि पानी परेका कारण छोटाएर १० ओभर मात्रै खेलाइएको थियो । टस जितेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धातिर १० ओभरको खेलमा ४ विकेटको क्षतिमा ८३ रनको चुनौती प्रस्तुत गरेको थियो । प्रिन्सा राना मगरले २७ रन, शुभेच्छा लिम्बूले १४ रन बनाइन् । बलिङमा एनसीएफकी अनिशा थापाले २, झरना घिमिरे र रोजु परियारले समान १–१ विकेट लिए ।
८४ रनको लक्ष्य पाएको एनसीएफले पूरै ओभर खेल्दै ६ विकेटमा २३ रनमै समेटियो । शकुन्तला सहनीले मात्रै १० रन बनाइन् । बलिङमा विराटनगरकी शुभेच्छा लिम्बूले ४ र सानु राजवंशीले १ विकेट लिए । खेलमा विराटनगरकी शुभेच्छा लिम्बू प्लेयर अफ द म्याच भइन् । त्यस्तै, दिनको दोस्रो खेलमा राजविराज हबले सिरहा हबलाई ७ विकेटले हराउँदै विजयी भयो ।
राजविराजले टस जितेर बलिङ रोज्दै सिरहालाई पहिले ब्याटिङको मौका दिएको थियो । पहिले ब्याटिङ थालेको सिरहाले निर्धारित २० ओभरको खेलमा ११ ओभर २ बलमा सबै विकेट गुमाउँदै ३८ रन बनायो । सरस्वती चौधरीले १३ रन बनाइन् । बलिङमा राजविराजकी साक्षी यादवले ६ विकेट तथा दीपा राम, अपेक्षा यादव र वन्दना रजकले समान १–१ विकेट लिए । सामान्य लक्ष्य पाएको राजविराजले १० ओभर ३ बलमा ३ विकेट गुमाउँदै ४१ रन बनाउँदै विजयी भयो । साक्षी यादवले १५ रनको बनाइन् । बलिङमा सिरहाकी सरस्वती चौधरी, प्रसिद्धिका खड्का र मिना महतोले समान १–१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच राजविराजकी साक्षी यादव भइन् । प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेल सिरहा हब र विराटनगर हब तथा दोस्रो खेल एनसीएफ ११ र राजविराज हबबीच हुने आयोजकले जनाएको छ ।