विराटनगर २५ चैत । माइती नेपालको ३४ औँ वार्षिकोत्सवको अवसरमा विराटनगरका चारवटा वडाहरुमा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
मंगलबार विराटनगर ८, १३, १५ र १६ मा रहेका माइती नेपालका सेफ्टी नेट सञ्जाल समूहका सदस्यहरूलाई लक्षित गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको माइती नेपाल मोरङका संयोजक बिनोद पोखरेलले जानकारी दिनुभयो । उहाँले माइती नेपालले मोरङ जिल्लाका खुला नाकाहरू, जोगबनी सीमाना हुँदै सञ्चालन हुने रेल सेवाहरू तथा ती माध्यमबाट हुने सम्भावित मानव बेचबिखन नियन्त्रणका लागि माइती नेपालले अपनाइरहेको निगरानी प्रणालीबारे जानकारी दिनुभयो ।
मनोपरामर्शकर्ता गीताञ्जली शर्माले मानव बेचबिखनका स्वरूप, यससम्बन्धी कानुनी व्यवस्था, उद्धार प्रक्रिया तथा यस्ता घटनामा अपनाउनुपर्ने ‘रेफरल मेकानिज्म’ (सन्दर्भ प्रणाली) का विषयमा सहभागीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो । मानव बेचबिखन तथा लैङ्गिक हिंसाका घटनाहरू आएमा सम्बन्धित निकायमा कसरी समन्वय गरी प्रभावकारी रूपमा रेफर गर्ने भन्ने विषयमा समेत उहाँले स्पष्ट पार्नु भएको थियो ।
विराटनगरवडा नं. ८ का वडा सदस्य भुवन राजवंशीले यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउँदै वडाहरूबीच समन्वय सुदृढ बनाउन र हिंसामा परेका महिलाहरूलाई सेवा प्रदान गर्दा सहजता ल्याउन यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
वडा नं. १३ की संयोजक तथा स्वास्थ्य स्वयंसेविका कुन्ती यादवले माइती नेपालले समय–समयमा प्रदान गर्ने यस्ता अभिमुखीकरणले आफूलाई समुदायमा काम गर्दा महिला तथा बालबालिकालाई सचेतना फैलाउन सहयोग पुगेको अनुभव सुनाउनुभयो । कार्यक्रममा प्रत्येक वडाबाट ६–६ जनाका दरले कुल २४ जना सञ्जाल समिति सदस्यहरू, जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।