विराटनगर २५ चैत । आगामी चैत २८ गतेदेखि हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । आगामी वैशाख ५ गतेसम्म विराटनगरमा आयोजना हुने प्रतियोगिताबारे विराट गोल्ड कप फुटवल ट्रष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
स्थानीय शहीद मैदानमा रात्रीकालिन प्रतियोगिता हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । प्रतियोेगितामा नेपाल र भारतका गरी आठ वटा टीमहरुको सहभागिता हुने छ । ‘फुटवलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप’ नाराका साथ प्रतियोगितामा नेपाल पुलिस क्लव , त्रिभुवन आर्मी फुटवल क्लव , मच्छिन्द्र फुटवल क्लव , नेपाल एपिएफ फुटवल क्लव, चर्च ब्वाइज फुटवल क्लव,सम्राट स्र्पाेटिङ्ग क्लव विराटनगर, झापा –११ फुटवल क्लव, झाफा, र भारत झारखण्डको विर्षा मुण्डा फुटबल एकेडेमी रहेका छन् ।
प्रतियोगिता नकआउटको आधारमा खेलाइने छ । प्रतियोगितामा विजेता हुने टीमले ११ लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कष्ट गोल रक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वाेकृष्ट खेलाडीलाई ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार दिने निर्णय भएको सो अवसरमा बताइयो ।
‘विराट गोल्ड कप फुटबल प्रतियोगिता –२०८२ सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले बताउनुभयो । प्रतियोगिताको टिकट दर क्वाटर फाइनलसम्म रु एक सय, सेमि फाइनल रु दुई सय र फाइनलका रु तीन सय राखिएको छ ।