कोशी प्रदेश सभाको चालु तथा हिउँदे अधिवेशन अन्त्य

विराटनगर २३ चैत । कोशी प्रदेश सभाको चालु तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो ।

यस अधिवेशनका क्रममा विभिन्न विधेयक र समसामयिक प्रस्तावहरूमाथि छलफल भए पनि सरकारले बिजनेसको अभाव देखाउँदै अधिवेशन अन्त्यको प्रक्रिया अघि बढाएको थियो ।