मुलुकको विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

विराटनगर २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।

महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोत एवं साधानको अधिकृत उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउने दावी गर्नुभयो ।

अध्यक्ष ढकालले मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको नीजि क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा परिवर्तन भएको जानकारी गराउनु भयो । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले नीजि क्षेत्रमैत्री कानुन निर्माण गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनु पर्ने सुझाव दिनु भयो ।

महासंघका कोशी अध्यक्ष राजेन्द्रबहादुर राउतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिँदै प्रदेशमा कृषि, जल विद्युत र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको यसमा लगानी गर्न उद्योगी एवं व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, लुम्विनी अध्यक्ष कृष्ण शर्मा, हेमराज ढकाल लगायतले सरकारले व्यवसायीक वातावरण निर्माण गरेमा विदेशी तथा स्वदेशी लगानी आउने धारणा राख्न भयो । महासंघ कोशी अध्यक्षमा वर्तमान अध्यक्ष राउत र नविन रिजालवीच प्रतिस्पर्धा हुँदैछ ।