प्रथम बुढीगंगा गोल्डकप शुरु, उद्घाटन खेलमा सलहेस क्लव सिरहा विजयी

विराटनगर २१ चैत । मोरङको बुढीगंगा गाउँपालिकाको आयोजनामा ‘प्रथम बुढीगंगा गोल्डकप’ आजदेखि शुरु भएको छ ।

बुढीगंगा २ स्थित अमाही खेलमैदानमा आज भएको खेलमा सिरहाको सलहेस क्लव सेमीफाईनलमा प्रवेश गरेको छ । उसले राजारानी आरआईएफसी काठमाण्डौंलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

खेलको ११ औँ मिनेटमा सिरहाका फकुन्ले अभोयोमीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिरहाका फोडे फोफोनाले खेलको २३ औँ मिनेटमा गोल गर्दै टोलीको गोल संख्या दोब्बर बनाए । पुनः ४३ औँ मिनेटमा फोडेले गोल गर्दै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । सिरहाका रोमन भुजेलले ४५ औँ मिनेटमा गोल थप्दै ४ शून्यको गोलको अवस्थामा पुर्याएका थिए ।

आरआईएफसी काठमाण्डौंका सोलोमनले ६३ औँ मिनेटमा गोल गर्दै टोलीका लागि खाता खोले । लगत्तै ६५ औँ मिनेटमा काठमाडौंमा बिकु राईले गोल गर्दै ४–२ को अवस्था पुर्याए । काठमाडौं सोलोमनले पुनः ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै मतान्तर कम गरे पनि खेल नजिता निकाल्न सकेनन् ।

खेलको प्लेयर अफ द म्याच सिरहाका फोडे फोफोना भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आइतबारको खेल धनकुटाको रारा फुटबल क्लब र झापाको चात्या सा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

यसअघि सो प्रतियोगिताको उृद्घाटन बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापामगर गर्नुभएको थियो ।

“तीन युग, तीन नेतृत्व : विगत, वर्तमान र स्थानीय नेतृत्वको सम्मान” भन्ने नारा सहित शुरु गोल्डकप प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार सहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।