आजदेखि एसईई

विराटनगर १९ चैत । आज (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजे एकै समय एसईई परीक्षा सुरु हुनेछ ।

यही चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन ।

यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।