विराटनगर १८ चैत । कोशी प्रदेश सभाको आज बसेको बैठकले ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नु भएको थियो ।
प्रदेश सभा नियमावली २०७४ को नियम १०७ को उपनियम (२) को खण्ड(क) बोजिम न्याय, प्रशासन तथा विधायन समितिको प्रतिवेदन सहितको विधेयक माथि छलफल गरियोस् भनिएको प्रस्तावमा कुनै सदस्यहरुले सहभागी जनाएनन् ।
बैठकमा ‘ कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनः विचारार्थ निर्देशन सहित सम्बन्धित समितिमा विधेकय फिर्ता पठाइयोस् भनी आन्तरिक मामिला तथा कानुन मन्त्री पराजुलीले पेस गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले प्रस्तुत गर्नु भएको निर्णयार्थ सर्वसमम्मतिले पारित भएको थियो ।
सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेश सभाका सदस्यहरुले उठाउनु भएका खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफमा खानेपानी, सिँचाई तथा उर्जा मन्त्री तिलचन पाठकले जवाफ दिनुभएको थियो । उहाँले सरकारले आफ्नो सीमित साधन र श्रोतको बाबजुद पनि यी क्षेत्रमा इमान्दारीताकासाथ काम गरिरहेको स्पष्ट पार्नु भयो । न्
याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धित समितिको प्रतिवेदन सभामा पेस गर्नु भयो । विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) कोशी प्रदेश सभा संसदीय दलको तर्फबाट मालतीकुमारी लिम्बूले सरकारले बालबालिकाको हित र अधिकारका निम्ति आवश्यक कानुन बनाउनु पर्ने जिकिर गर्नुभयो ।
शून्य समयमा कोशी प्रदेश सभा सदस्य सुनिता गुरुङ, मैया श्रेष्ठ, सिर्जना राई, मीना श्रेष्ठ, गीतादेवी रेग्मी र तारादेवी ढकालले विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । सभाको अर्काे बैठक चैत २२ गते अपरान्ह १ बजे बस्नेछ ।