विराटनगर १८ चैत । आगामी बैशाख २ देखि असार ७ गते सम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ । आर्थिक गणनाका लागि मोरङमा तयारी तीव्र पारिएको छ । १७ स्थानीय तह रहेको मोरङमा आर्थिक गणना कार्यालय (क) र (ख) स्थापना गरि तयारी अगाडी बढाईएको छ ।
बैशाख २ देखि हुने आर्थिक गणनाका फिल्डमा सुपरीवेक्षक र गणकगरि १७८ जना परिचालन हुने भएका छन् । गणकहरुको छनौट कार्य अन्तिम चरणमा रहेको जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले जानकारी दिनुभयो ।
गणकहरुले सञ्चालनमा रहेका दर्ता भएका वा नभएका, साना वा ठुला, घरपरिवारबाट सञ्चालित र सडक तथा हाटबजारमा सञ्चालित ब्यापार व्यवसायहरुको गणना गर्ने अधिकारीले बताउनुभयो ।
विराटनगरमा सरोकारवालाहरुसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले देशको आर्थिक संरचना बुझ्नका लागि दोश्रो पटक आर्थिक गणना हुन लागेको बताउनुभयो । उहाँले गणकहरुलाई आर्थिक विवरणहरु उपलब्ध गराईदिनुहुन आग्रह समेत गर्नुभयो ।
प्रमुख अधिकारीले भन्नुभयो,‘ आर्थिक गणनाको प्रयोजनका लागि मात्रै तथ्याङ्क संकलन गरिने र नतिजा सामुहिक प्रकाशन हुने भएकाले सही तथ्याङ्क उपलब्ध गराईदिनु होला ।’ आर्थिक गणनामा संकलन गरिएको तथ्याङ्क अन्य प्रयोजनमा प्रयोग नहुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले तथ्याङ्क सही र प्रष्ट रुपमा संकलन गर्न आग्रह गर्नुभयो । सही तथ्याङ्क आएमात्रै देशको आर्थिक अवस्थाका बारेमा थाहा हुने उहाँले बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले तथ्यसहितको तथ्याङ्क संकलन गर्न आग्रह गर्नुभयो ।
नेपालमा यसअघि २०७५ मा पहिलो पटक आर्थिक गणना गरिएको थियो । पहिलो आर्थिक गणना अनुसार मोरङमा ३५ हजार २४७ औद्योगिक प्रतिष्ठान रहेको र १ लाख २७ हजार ८८७ जनशक्ति कार्यरत रहेका थिए ।