कोशी प्रदेशसभामा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखक पक्राउको विरोध

विराटनगर १५ चैत । कोशी प्रदेश सभाको बैठकमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको विषयले प्रवेश पाएको छ ।

ओली र लेखक शनिबार पक्राउ परेका थिए । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले ‘राजनीतिक प्रतिशोध’का आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरे । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको उनीहरूको दाबी छ ।

सांसद डोल्मा तामाङ, सिर्जना राई, किशोरचन्द्र दुलाल र होमबहादुर थापाले नयाँ सरकारले गठन भएको २४ घण्टा नबित्दै धरपकड सुरु गरेर विधिको शासनमाथि गम्भीर प्रहार गरेको बताउनुभयो । सांसद मीना श्रेष्ठले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको गिरफ्तारी लोकतान्त्रिक प्रणालीमाथिकै प्रहार भएको बताउनुभयो ।

सांसद गीतादेवी रेग्मीले फरक विचार राख्ने नेताहरूप्रति राजनीतिक प्रतिशोध नसाध्न आग्रह गर्दै यसले देशमा अस्थिरता ल्याउने चेतावनी दिनुभयो । शून्य समयमै बोल्दै सांसद खगेश्वरी पौडेलले भने सुशासन अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै सार्वजनिक सेवाहरूलाई डिजिटलाइज गर्नसके मात्र सुशासन कायम हुने बताउनुभयो ।

बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलको तर्फबाट बोल्दै सांसद तिलकुमार मेन्याङ्बोले नेताहरूको गिरफ्तारीको दलगत रूपमा कडा विरोध गर्नुभयो । नेपालको राजनीतिक इतिहासमा ठुलाठुला परिवर्तनपछि उठेका क्रिया–प्रतिक्रियालाई दलहरूले सावधानीपूर्वक हल गर्दै आएको इतिहास उहाँले स्मरण गराउनुभयो ।