विराटनगर १५ चैत । नेकपा (एमाले) मोरङले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदम प्रतिशोधपूर्ण र गैरसंवैधानिक भएको आरोप लगाएको छ ।
एमाले मोरङले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्री बालेन शाह (बालेन)लाई विरोधपत्रसमेत बुझाएको छ । प्रजिअ कटेलले विरोधपत्र प्रधानमन्त्री कार्यालय पठाइने बताउनुभयो । विरोधपत्र बुझाउनुअघि एमालेले विराटनगरमा प्रदर्शनसमेत गरेको छ । एमालेले विरोधपत्रमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ओलीको पक्राउलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको ठाडो प्रहारका रूपमा व्याख्या गरेको छ ।
एमाले मोरङका कार्यवहाक अध्यक्ष सागर थापाले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा गरिएको ओलीको पक्राउ पूर्वाग्रही र प्रतिशोधबाट प्रेरित रहेको बताउनुभयो ।
नवगठित सरकारले पदभार सम्हालेको २४ घण्टा नबित्दै यस्तो कदम चालिनु स्वयंमा लोकतान्त्रिक अभ्यासविपरीत रहेको उहाँको भनाइ छ । विरोधपत्रमा भदौ २३ गते भएको जेनजी नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा ‘हाइज्याक’ गरिएको र त्यसैलाई आधार बनाएर जननिर्वाचित सरकार एवं संसद विघटन गरिएको आरोप लगाइएको छ । एमाले मोरङले उक्त घटनापछि बनेको सरकारलाई नै गैरसंवैधानिक बाटोबाट स्थापित भएको भन्दै त्यसले गठन गरेको कार्की आयोगलाई पनि ‘तथाकथित’ र ‘पूर्वाग्रही’को संज्ञा दिएको छ ।
विरोधपत्रमा सुरक्षा निकायमाथि आक्रमण, प्रहरीको हत्या, हतियार लुटपाट, जेल तोडफोड, निजी सम्पत्तिमा आगजनी, व्यवसायिक प्रतिष्ठानमाथि लुटपाट तथा सिंहदरबार, सर्वाेच्च अदालत र संसद भवनजस्ता सरकारी संरचनामाथि भएको आगजनी एवं तोडफोडका घटनाहरूमा आयोगको प्रतिवेदन मौन बसेको उल्लेख गरिएको छ । ती घटनाहरूको छानबिन नगरी एकपक्षीय ढंगले प्रतिवेदन तयार गरिएको भन्दै एमाले मोरङले त्यसको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
विरोधपत्रमा ओलीसहित गिरफ्तार गरिएका अन्य नेताहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ । सरकारले दमनकारी र प्रतिशोधपूर्ण गतिविधिहरू तुरुन्त बन्द गर्नुपर्ने एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताउनुभयो ।