यातायात कार्यालय सुनसरीमा अनियमिताको आरोप लागेका सत्याललाई मन्त्रालय तानियो

विराटनगर १५ चैत । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र)मा गम्भीर अनियमितताको आरोप लागेपछि कार्यालय प्रमुख सतिश सत्याललाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानिएको छ ।

बढ्दो गुनासो र अनुगमनबाट भेटिएको कैफियतलाई आधार बनाएर उनलाई विराटनगरस्थित कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तानिएको हो । मन्त्रालयले उनीमाथि औपचारिक छानबिन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार बिहीबार भएको निर्णयअनुसार नवौं तहका अधिकृत सत्याललाई मन्त्रालयमा तानेर थप छानबिन अघि बढाइएको छ ।

हाल मन्त्रालयमा हाजिर भइरहेका सत्याललाई कुनै जिम्मेवारी दिइएको छैन । मन्त्रालयले उनलाई सक्रिय जिम्मेवारीबाट अलग राख्दै छानबिन प्रक्रिया अगाडि बढाएको हो । सत्यालमाथि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिँदा वा नवीकरण गर्दा अनिवार्य गरिने स्वास्थ्य परीक्षणमा फेल भएका व्यक्तिलाई पास गराएको आरोप लागेको छ ।

मन्त्रालयका अनुसार सेवाग्राहीबाट लिखित तथा मौखिक रूपमा निरन्तर गुनासो आइरहेका थिए । गुनासो आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीसम्म पनि पुगेपछि मन्त्रालयले प्रत्यक्ष चासो लिँदै छड्के अनुगमन गरेको थियो ।

सचिव तामाङकै नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई उत्तीर्ण गराइएको प्रमाण फेला परेको मन्त्रालयको दाबी छ । त्यसपछि तत्कालै सत्याललाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानिएको हो ।

अनुगमन टोलीले सत्यालको कार्यकक्षमा रहेका दराजसमेत सिल गरेको छ । स्रोतका अनुसार सत्याललाई यसअघि पनि पटकपटक मौखिक रूपमा सचेत गराइएको थियो । तर, सचेत गराउँदा पनि सुधार नआएको र पछिल्लो अनुगमनमा समेत अनियमितता पुष्टि भएपछि कडा कदम चाल्नु परेको मन्त्रालयको भनाइ छ ।