पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

विराटनगर १४ चैत । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक आज विहान पक्राउ परेका छन् ।

एमाले अध्यक्ष ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

अध्यक्ष ओलीलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

पूर्व गृहमन्त्री लेखकलाई पनि प्रहरीले विहान पक्राउ गरेको छ । भक्तपुरको कटुन्जेस्थित निवासबाट लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए । प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।

मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।