विराटनगरमा श्रीमानद्धारा श्रीमतीको हत्या, शव व्यवस्थापनका लागि सीटी सफारी प्रयोग

विराटनगर ११ फागुन । विराटनगर १५ हड्ताली हाटका ३५ वर्षीय रोशन साहले पत्नीको हत्या गरेपछि शव व्यवस्थापनका लागि सीटी सफारी प्रयोग गरेको पत्ता लागेको   छ ।

रोनशले पत्नी ३२ वर्षीया कोमलकुमारी साहको हत्या चैत ५ गते राति गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरभित्रै हत्या गरेपछि प्रदेश १–०२–००३ ह ५७०७ नम्बरको सीटी सफारीमा राखेर शवलाई विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीनजिक रहेको कल्भर्टमुनि फालिदिएको पत्ता लागेको हो ।

उक्त सफारी रोशनकै दाजु ४६ वर्षीय दीपेन्द्र साहको हो । घरबाट शव फालेको स्थान लगभग ४ किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर घटनासँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरेको छ ।

रोशनले हत्यापछि हातखुट्टा बाँधी पत्नीको शवलाई तन्नाले बेरेर करिब ४ किलोमिटर पर रहेको कल्भर्टको पानीमा फालिदिएको प्रहरीले जनाएको छ । हत्यापछि शव व्यवस्थापन गरेर घटना लुकाउनलाई घरदेखि निक्कै टाढाको स्थान रोजिएको पत्ता लागेको छ ।

घटनाको खुलासा भने चार दिनपछि भएको हो । कल्भर्टमुनि पानीभित्र तन्नाले बेरिएको अवस्थामा शव देखिएपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँले मंगलबार साँझ करिब ६ः५५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित डीएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।

शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । त्यसपछि प्रहरीले हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलान गर्दै अनुसन्धान अघि बढायो । सोही क्रममा मृतक महिला कोमलकुमारी साह रहेको पुष्टि भयो ।

प्रहरीका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् । रोशनले नै पत्नी हराएको नाटक गर्दै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए । तर, अनुसन्धानको क्रममा उनले नै हत्या गरेर घटना लुकाउन खोजेको तथ्य बाहिर आएको छ ।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएर अनुसन्धान सकिएपछि घटनासँग सम्बन्धित अन्य विषय पत्ता लाग्ने डीएसपी लामिछानेले बताए । सबै पोटोबाट घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । रोशन र कोमलकुमारीका १२ वर्षका छोरा र १० वर्षकी छोरी छन् । छोराछोरी निदाइसकेपछि रातको समयमा रोशनले पत्नीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।