मोरङका ५ स्थानमा बर्डफ्लू संक्रमण पुष्टि

विराटनगर ९ चैत । मोरङ जिल्लाभित्र कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही दिनयता एकपछि अर्काे स्थानमा संक्रमण देखिएको छ ।

विराटनगरमा पनि संक्रमण पुष्टि भएको छ । हालसमम जिल्लाका पाँचवटा पोल्ट्री फार्म प्रभावित भएका छन् । फैलदो क्रममा रहेको बर्डफ्लू नियन्त्रणका लागि सरकारी निकाय सक्रिय भएका छन् । कुखुरा पालक किसानहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहका अनुसार आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । योसँगै मोरङमा पुष्टि भएका संक्रमित फर्मको संख्या पाँच पुगेको छ ।

यसअघि सुन्दरहरैँचा नगरपालिका–४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी नगरपालिका–८ को अठियावारी कृषि फार्म, कटहरी गाउँपालिका–२ मा रहेको ई टु जेड पोल्ट्री फार्म र कटहरी– ६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण देखिइसकेको साहले बताउनुभयो ।