विराटनगर ८ चैत । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ ।
विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले सुनसरीले उपाधि जितेको हो ।
पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो ।
टस जितेर ब्याटिङ गरेको सुनसरीले खराव मौसमको कारण ४० ओभरमा छोट्याएको खेलमा पुरै ओभर खेल्दै सवै विकेट गुमाई १ सय ४६ रन बनायो । सुनसरीका कप्तान प्लेयर अफ म्याच रविन मण्डलले ८१ रन बनाउँदा रोशन घिमिरेले १० रनको योगदान दिए । मोरङका कृष शर्माले ३ विकेट लिँदा कृतिक कामतले २ विकेट तथा प्रतिक पोखरेल, यथार्थ बचन यादव र अमर यादवले १–१ विकेट लिए ।
जवाफमा १ सय ४७ रनको लक्ष्य पाएको मोरङ २७ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ७२ रनमा अलआउट भयो । मोरङका प्रतिक पोखरेलले १९ रन बनाउँदा कृष शर्माले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन । सुनसरीका कविराज खत्रीले ७ ओभरमा २ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा रविन मण्डलले ३ विकेट लिए ।