विराटनगर ५ चैत । विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा मोरङले सुनसरीलाई पराजित गरेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङले सुनसरीलाई ५९ रनले पराजित गर्दै ३ खेलको सिरिजमा मोरङले १–० को अग्रता लिएको छ ।
टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १४ रनमा अलआउट भयो । मोरङका ८ औ नम्बरमा ब्याटिङ गर्न आएका प्रतिक पोखरेलले ३२ रन बनाउँदा सुवास राँयले १३ रनको योगदान दिए ।
पोखरेल ब्याटिङ गर्न आउँदा मोरङ ४३ रनमा ६ विकेट गुमाई दयनिय अवस्थामा रहेको वेला ३२ रनको ठोस इनिङ खेलेका थिए । सुनसरीका कविराज खत्रीले किफायती बलिङ गर्दै ९ दशमलव ३ बलमा ५ मेडन राख्दै २१ रन दिएर ५ विकेट लिँदा कृष्ण विष्ट र रविन मण्डलले १–१ विकेट लिए । जवाफमा १ सय १५ रनको झिनो लक्ष्य पाएको सुनसरी १९ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ५५ रन बनायो ।
सुनसरीका रोशन खत्रीले १७ रन बनाउँदा अफन ताहिरले ११ रनको योगदान दिए । मोरङका कृष शर्माले ७ दशमलव ४ बलमा २ मेडन राख्दै १७ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले २ ओभरमा २ रन दिएर ४ विकेट तथा प्रतिक पोखरेलले १ विकेट लिए । खेलको प्लेयर अफ म्याच मोरङका प्रतिक पोखरेल भए । उनले ३२ रन बनाउँनुको साथ सुनसरीका २ जना ब्याटरको क्याच समेत दिएका थिए ।
शनिबारसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि रहेका छन् । कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताउनुभयो ।
प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उहाँले बताउनुभयो । मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँहरूको सम्मानमा प्रतियोगिता आयोजना गरिएकोे उहाँले बताउनुभयो । ५० ओभरमा खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।