मोरङको बूढीगंगा गाउँपालिका–४ को मुसहर बस्तीका १० घर जलेर नष्ट

विराटनगर ४ फागुन । आगलागीका कारण मोरङको बूढीगंगा गाउँपालिका–४ को मुसहर बस्ती खरानी भएको छ । एकैछिनमै बस्ती खरानी भएको हो । प्रारम्भिक विवरण अनुसार बुधबार दिउँसो करिब २ बजेतिर आगलागी हुँदा १० वटा घरहरु जलेर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

करिब ४५ मिनेटको आगलागीले स्थानीय मुसहर समुदायका परिवारलाई अत्यन्त संकटमा पारेको छ । प्रहरीका अनुसार गोकुवा चोकबाट पूर्वतर्फ रहेको बस्तीमा अचानक लागेको आगो तीव्र गतिमा फैलिएको थियो ।

प्रायः घरहरु फुसको छाना र टाटीबेराले बनेका थिए । आगोले बस्तीका घरहरु चाँडै जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । बस्तीका घरहरूको बनावट कमजोर भएकाले आगो तत्कालन नियन्त्रण गर्न सम्भव नभएको मोरङ प्रहरीका सूचना अधिकारी लीलाराज लामिछानेले बताउनुभयो ।

विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सक्रिय प्रयासपछि करिब ४५ मिनेटमा आगो नियन्त्रणमा आएको जानकारी लामिछानेले दिए । तर, आगो नियन्त्रणमा आए पनि बस्तीका अधिकांश घर पूर्ण रूपमा नष्ट भइसकेका छन् । आगोले घरसँगै लत्ताकपडा, नगद, सुनचाँदी, अन्नपात र दैनिक प्रयोगका सामग्रीहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डीएसपी लामिछानेले क्षतिको विवरण संकलनको काम भइरहेको जानकारी दिनुभयो ।

सरोकारवालाहरूले पीडित परिवारलाई राहत, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको माग गर्न थालेका छन् । घटनाले अति विपन्न समुदायको असुरक्षित बसोबास र विपद् व्यवस्थापनको कमजोर तयारीलाई स्पष्ट पारेको छ । समयमै प्रभावकारी राहत र पुनःस्थापनाको व्यवस्था नभए पीडितहरूको अवस्था अझ जटिल बन्दै जाने स्थानीयवासीको भनाई छ ।