विराटनगर ३ चैत । सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगरस्थित कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँभन्दा बढी वित्तीय हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको छ । बैंकको आन्तरिक छानबिनका क्रममा नक्कली ऋणी खडा गरेर ठुलो परिमाणमा रकम दुरुपयोग भएको पाइएपछि बैंक प्रशासनले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो ।
विराटनगर–३, राजवंशी चोकमा रहेको उक्त शाखामा भएको घोटाला प्रकरणमा बैंकका कर्मचारीहरूकै प्रत्यक्ष संलग्नता देखिएको छ ।
बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार नियमित रूपमा गरिने ुसरप्राइज अडिटु (आकस्मिक लेखापरीक्षण) का क्रममा ऋण लगानीमा शंकास्पद विवरणहरू भेटिएका थिए । चाडबाडको समय पारेर केही कर्मचारीको मिलेमतोमा नक्कली ऋणीका नाममा ऋण प्रवाह गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बैंक प्रशासनले उक्त शाखाको सञ्चालन विभाग प्रमुख (अपरेशन हेड) रोजी कँडेललाई मुख्य योजनाकारका रूपमा औंल्याएको छ । कँडेलले अन्य ४–५ जना कर्मचारीको युजर आइडीु समेत दुरुपयोग गरेर ऋण स्वीकृत गराएको बैंकको दाबी छ । यद्यपि, बैंक स्रोतका अनुसार यो प्रकरणमा कँडेल एक्लैको संलग्नता नभई अन्य उच्च तहका कर्मचारीहरूको पनि मिलेमतो छ ।
घोटाला सार्वजनिक हुनुपूर्व नै बैंकले आन्तरिक रूपमा क्षतिपूर्तिको प्रयास गरेको बुझिएको छ । बैंकले रोजी कँडेलको परिवारबाट ७ करोड रुपैयाँ बराबरको जग्गा धितो राखेर मात्र फागुन २८ गते प्रहरीमा जाहेरी दिएको थियो । अर्काेतर्फ, मुख्य आरोपित भनिएकी रोजी कँडेलले भने आफूलाई मात्र निसाना बनाइएको र अन्य दोषीलाई जोगाउन बैंकले फसाउन खोजेको दाबी गरेकी छन् । उनले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बैंक उजुरी परेको पुष्टि गर्दै गम्भीरताका साथ अनुसन्धान भइरहेको बताउनुभयो ।