विराट एक्स्पोको मस्कट बन्यो कोशीको दुर्लभ डल्फिन ‘आशा’

विराटनगर १३ मंसिर । उद्योग संगठन मोरङले पुस २ देखि आयोजना गर्ने नवौँ विराट एक्स्पो २०२६ मा यसपटक कोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक डल्फिन आकर्षणको प्रतीक बन्ने भएको छ । विराटनगरको डिग्री क्याम्पस पसिरमा पुस ११ गते सम्म सञ्चालन हुने एक्स्पोको मस्कटका रूपमा छनोट गरिएको डल्फिनलाई ‘आशा’ नाम दिइएको छ ।

एक्स्पोमा डल्फिन मार्फत संगठनले औद्योगिक तथा व्यावसायिक गतिविधिसँगै कोशीको जैविक विविधता र नदी संरक्षणको सन्देश प्रवाह गर्ने प्रयत्न गरेको छ । डल्फिन स्वच्छ र स्वस्थ नदीको पारिस्थितिक प्रणालीमा निर्भर रहने जलचर स्तनधारी प्राणी हो । यसको छनोटमार्फत उद्योग संगठनले वातावरणीय स्वच्छता र आर्थिक विकासबीचको सम्बन्ध समेत उजागर गर्न खोजेको छ ।

डल्फिनको अस्तित्वका लागि स्वस्थ नदी आवश्यक हुन्छ । त्यसरी नै उद्योग, व्यापार र उद्यमशीलताको विकासका लागि पनि स्वस्थ व्यावसायिक वातावरण अपरिहार्य हुने संगठनको बुझाई छ । डल्फिनलाई बुद्धिमत्ता, सहकार्य, सञ्चार र सामूहिक गतिशीलताको प्रतीकका रूपमा पनि लिइन्छ ।

उद्योग, व्यवसाय, सरकार, शैक्षिक संस्था, युवा र लगानीकर्ता बीचको सहकार्यले मात्रै आर्थिक इकोसिस्टम बलियो बन्ने सन्देश दिनकालागि एक्स्पोको मस्कटका रुपमा डल्फिनलाई छनौट गरिएको संगठनको भनाई छ ।

‘आशा’ नामले डल्फिनको मस्कटले नयाँ सम्भावना, सकारात्मक सोच र समृद्ध भविष्यप्रतिको विश्वासलाई प्रतिनिधित्व गर्ने विश्वास आयोजकको छ । एक्स्पो मार्फत विद्यार्थीलाई सिकाइ, युवालाई रोजगारी, उद्यमीलाई बजार र स्टार्टअपलाई लगानीका अवसरसँग जोड्ने लक्ष्यलाई पनि मस्कटले प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने संगठनको विश्वास छ ।