विराटनगर १२ मंसिर । अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने निर्णय सरकारले गरेको छ ।
केही साताअघि बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संयुक्त लगानीमा सञ्चालित आयोजनासहित विभिन्न परियोजनाको म्याद थप्ने विषयमा निर्णय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो । तर, सरकारका प्रवक्ताले सार्वजनिक गरेको ब्रिफिङमा यसबारे जानकारी दिइएको थिएन ।
‘आयोजनाको अवधि एक वर्ष थप्ने निर्णयबारे एमसीसीलाई जानकारी गराउने जिम्मेवारी मन्त्रीपरिषद्ले अर्थ मन्त्रालयलाई दिइसकेको छ,’ एक मन्त्रीले कान्तिपुरसँग भने, ‘यसका लागि थप खर्च लाग्ने छैन । आयोजनाको प्रभावकारी कार्यान्वयन अवधि पाँच वर्ष नै कायम रहनेछ ।’
अमेरिकी अनुदानमा सञ्चालित आयोजनाको म्याद थप्न एमसीए–नेपालले पहल गरेको थियो । उसले गत मे महिनाको मध्यतिर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्दै ७४ करोड ७० लाख अमेरिकी डलरको कम्प्याक्ट सम्झौताको अवधि थप्न नेपाल सरकारका तर्फबाट एमसीसीलाई औपचारिक पत्राचार गर्न आग्रह गरेको थियो ।
एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक खण्ड स्तरोन्नति गर्ने आयोजना छन् । सरकारको निर्णय अब आगामी महिना बस्ने एमसीसी बोर्ड बैठकमा पेस गरिनेछ । एमसीसीको वेबसाइटअनुसार बोर्डको अर्को बैठक डिसेम्बर ८ मा बस्दै छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो एमसीसी बोर्डका अध्यक्ष छन् ।