प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता हुँदैन : रास्वपा महामन्त्री आचार्य

विराटनगर १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान कायम रहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज विराटनगरमा महामन्त्री आचार्यलाई विभिन्न सञ्चार तथा पत्रकारितासम्बन्धी समस्याबारे ध्यानाकर्षण पत्र बुझाएको थियो । सोही पत्र बुझ्दै आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन । हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ । पत्रकार महासंघले उठाएका विषय र मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पुर्‍याउनेछु । पत्रकारिता समाजको अभिन्न अंग हो । यसलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध छ ।’

पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै आचार्यले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउने काममा रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकार महासंघले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित निकायसम्म ती विषय पुर्‍याउने आश्वासनसमेत दिनुभयो ।

महासंघ मोरङले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजेको भन्दै आपत्ति जनाइएको छ ।सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध गर्ने घटनामा संलग्नलाई कारबाही नगरी सरकारले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ ।

ध्यानाकर्षण पत्रमा गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन गर्दै पारिश्रमिक उपलब्ध नगराइएको विषय पनि उठाइएको छ ।

सरकारी विज्ञापन तथा सूचना वितरणमा सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको, लोककल्याणकारी विज्ञापनमा सरकारले कटौती गरेर सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरेको र सूचनामा पहुँच सीमित गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ ।

प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकारको सुनिश्चितता, सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षालगायतका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले महासंघ अहिले आन्दोलनमा छ ।