विराटनगर १२ मंसिर । गुणस्तरीय प्रारम्भिक बालशिक्षा किन र कसरी विषयक कोशी प्रदेशस्तरीय सम्मेलन आजदेखि विराटनगरमा सुरु भएको छ ।
रातो बंगला फाउण्डेसनको आयोजना तथा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरको व्यवस्थापनमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा प्रमुखवक्ता रातो बंगला फाउन्डेसनकी अध्यक्ष शान्ता दिक्षितले गुणस्तरी प्रारम्भिक बालशिक्षा किन भन्ने विषयमा प्रस्तुति प्रस्तुत गर्नुभयो । प्रारम्भिक बाल शिक्षाको वर्तमान अवस्थाका विषयमा रातो बंगला स्कुलकी प्रधानाध्यापक मिलन दिक्षित, प्रारम्भिक बाल शिक्षा विज्ञ मिनाक्षी दाहाल, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश उपसचिव लक्ष्मी न्यौपाने र पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेसँग प्यानल छलफल चलाइएको थियो । छलफलको सहजकर्ता रातो बंगला फाउण्डेसनकी कार्यकर्ता एलिना सुब्बा रहनुभएको थियो ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
भोली एभरेष्ट कलेज परिसरमा बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा प्रारम्भिक बाल शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ । व्यवस्थापकीय भूमिका निर्वाह गरेको एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले सम्मेलनले शिक्षण सिकाईमा एकरुपता ल्याउन तथा प्रभावकारी सिकाईमा सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।
नीजि तथा सामुदायिक सबै विद्यालयका शिक्षकहरु एक ठाउँमा बसेर गरिने यो सम्मेलनले प्रारम्भिक बाल शिक्षाको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाई छ । रातो बंगला फाउण्डेसनले यस्तै सम्मेलन सात वटै प्रदेशमा गर्ने जनाएको छ ।
यस अघि बागमती र गण्डकी प्रदेशमा सम्मेलन सम्पन्न भइसकेको फाउन्डेसनले जनाएको छ ।