विराटनगर १२ मंसिर । मोरङ बेलबारीको डाँगीहाट युथ क्लवले आगामी पुस ४ गतेदेखि १० गतेसम्म नवौँ बेलबारी मेजर स्वर्गीय एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लवले आज बेलवारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ । प्रतियोगितामा आयोजक डाँगिहाट युथ क्लब,बेलवारी, सिरहाको सलहेश युवा क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, प्लानिङ ब्वाइज क्लब काठमाण्डौं, झापाको रेडस्टार क्लब, भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङ सहभागी हुनेछन्। ।
बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा प्रतियोगिता आयोजना हुने क्लवका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिनुभयो । अध्यक्ष राईले खेलकुदमार्फत स्थानीय युवालाई फुटवल प्रति प्रेरणा जनाउन प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।
खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो । विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिको संगमस्थलका रूपमा रहेको बेलबारीलाई खेलकुदका माध्यमबाट थप परिचित गराउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
सो रंगशालामा दैनिक करिब एक सय खेलाडीले प्रशिक्षण लिँदै आएका छन्। । प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख सहित ट्रफी प्राप्त गर्ने क्लवका सचिव नविन राईले बताउनुभयो । यसैगरी व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार , उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डलाई जनही रु १७ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु १० हजार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न रु ७२ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको छ । गत संस्करणमा प्लानिङ ब्वाइज क्लबले काठमाण्डौले उपाधि जितेको आयोजकले जनाएकोक छ ।