विराटनगर ४ का ३९ समूहबीच भजनकीर्तन प्रतिस्पर्धा, सिद्धेश्वर समूह बन्यो विजेता

विराटनगर १२ मंसिर । भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेकपा एमाले विराटनगर महानगरपालिका–४ वडा कमिटीले आयोजना गरेको वडास्तरीय भजनकीर्तन प्रतियोगितामा सिद्धेश्वर भजनकीर्तन समूह जामुनगाछी प्रथम भएको छ ।

प्रतियोगिताको तेस्रो संस्करणमा प्रथम भएको सिद्धेश्वर समूहले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । अच्युतम कीर्तन समूह आदर्शटोल दोस्रो हुँदै १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । राधाकृष्ण भजन टोली विराटनगर ढाट समूह तेस्रो हुँदै सात हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा इक्राही भजन समूह चौथो हुँदै तीन हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी अन्य समूहलाई पनि आयोजकले जनही एक हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेको छ ।

भजनकीर्तन, संगिनी गायन तथा नृत्य प्रतियोगितामार्फत भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एमाले विराटनगर ४ का अध्यक्ष नवराज काफ्‌लेले बताउनुभयो । प्रतियोगितामा सहभागी हुन वडा नम्बर ४ भित्रका भजनकीर्तन समूहलाई नाम दर्ताका लागि खुला आह्वान गरिएको उहाँले बताउनुभयो । जसमा ३९ वटा समूहले नाम दर्ता गराएका थिए ।

नेकपा एमाले विराटनगर–४ वडा कमिटीका अध्यक्ष काफ्लेले नेतृत्व सम्हालेपछि वडामा यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिँदै आउनुभएको छ ।

प्रतियोगिताका विजेता तथा सहभागी समूहलाई नेकपा एमालेका केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, नेता विनोद ढकाल, मोरङ जिल्ला सचिव सोमराज थापा, महानगर कमिटी अध्यक्ष बलराम गिरी, सचिव विज्ञान शर्मा र आयोजक वडा कमिटीका अध्यक्ष नवराज काफ्लेलगायतले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।