चालक–सहचालकलाई सडक सुरक्षा र कानुनी व्यवस्थाबारे प्रशिक्षण

गाईघाट ८ मंसिर । यातायात क्षेत्रका मजदुर (चालक तथा सहचालक) को क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उदयपुरको गाईघाट बसपार्कमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हाम्रो आयुष पियुष मोटर ड्राइभिङ सेन्टर विराटनगरले आयोजना गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक रमेशप्रसाद धमला र ड्राइभिङ स्कुल संघ कोशी प्रदेशका भूपेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षणका क्रममा वरिष्ठ सई धमलाले सडक सुरक्षा, ट्राफिक नियम, यातायात ऐन तथा यातायात क्षेत्रसँग सम्बन्धित प्रचलित कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले सवारी सञ्चालन गर्दा कानुनी व्यवस्थाको पालना र सडक सुरक्षालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिनुभयो ।

ड्राइभिङ स्कुल कोशी प्रदेशका थापाले सडकको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै चालकहरूलाई सवारी सञ्चालनका क्रममा प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभयो। यात्रुको सुरक्षालाई ध्यानमा राखेर जिम्मेवार र संयमित ढंगले सवारी चलाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा ड्राइभिङ स्कुल संघका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सदस्य अनन्त घिमिरे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उदयपुरका अध्यक्ष बोधराज एसकेलगायतको सहभागिता रहेको थियो ।

यातायात क्षेत्रका मजदुरलाई सडक सुरक्षा, ट्राफिक नियम र कानुनी व्यवस्थाबारे सचेत गराउँदै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम यसअघि विराटनगर र इनरुवामा पनि आयोजना गरिएको थियो ।