प्रेस स्वतन्त्रता रक्षाका लागि पत्रकार महासंघको आन्दोलन निर्णायक बनाउन सुझाव

विराटनगर ७ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेशागत अधिकारको रक्षाका लागि सञ्चालन गरिरहेको आन्दोलनलाई निर्णायक बनाउनुपर्नेमा पत्रकारिता क्षेत्रका अगुवाहरूले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबार विराटनगरमा सञ्चारसम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूसँग गरेको छलफलमा उनीहरूले पत्रकारितामाथि बढ्दो हस्तक्षेप र पेशागत संकटविरुद्ध सबै पत्रकार एकजुट हुनुपर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकार आलोचना सुन्न नसक्ने अवस्थामा पुगेको आरोप लगाउँदै सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने प्रयास भइरहेको बताउनुभयो । पत्रकारको कलम बन्द गराउने उद्देश्यले सरकार अघि बढेको भन्दै उहाँले आन्दोलनलाई निर्णायक बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष मोहन भण्डारीले पत्रकारिता क्षेत्रमा पेशागत संकट बढ्दै गएकाले सबै पत्रकार एकजुट हुन आवश्यक रहेको बताउनुभयो । आन्दोलनमा अपेक्षित उत्साह र सहभागिता नदेखिएको उल्लेख गर्दै उहाँले आन्दोलनको प्रभावकारी वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

अर्का पूर्वअध्यक्ष दीपक दाहालले पत्रकारमाथि आक्रमण र हस्तक्षेप हुँदा महासंघले तत्काल प्रभावकारी प्रतिक्रिया दिन नसकेको टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष तथा प्रेस चाैतारीका केन्द्रीय सचिव  विक्रम लुइँटेलले आन्दोलनलाई प्रभावकारी बनाउन जाेड दिनुभयाे ।  महासंघको आन्दोलनकाे माहोल बन्न नसकेको उहाँले बताउनुभयाे । सरकारलाई प्रेस स्वतन्त्रताका विषयमा गम्भीर ध्यानाकर्षण गराउन आन्दोलन आवश्यक रहेको उहाँको भनाइ थियो ।

महासंघ माेरङका पूर्वअध्यक्ष  विक्रम निरौलाले राज्यका निकायमा दर्ता भएका सबै सञ्चारमाध्यमलाई समान रूपमा सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याउनेमाथि कारबाही नभएको विषयलाई आन्दोलनको मुख्य मुद्दा बनाएको    छ ।

गाेरखापत्र लगायतका  सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा पनि महासंघले विरोध जनाउँदै आएको छ । महासंघले यी घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारको अनुदार व्यवहारका रूपमा लिएको छ ।

छलफलमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, माेरङका पूर्वअध्यक्ष तथा सल्लाहकार बन्धु पाेखरेल, माेरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, प्रेस सेन्टर मोरङका अध्यक्ष नवीन कर्ण तथा पत्रकारहरू महाप्रसाद खतिवडा, कौशल निरौलालगायतले पनि आन्दोलनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन साझा पहल आवश्यक रहेको धारणा राख्नुभएको थियो ।