विराटनगरको मेयर बन्ने दौडमा टिकाराम पुरी

विराटनगर ७ मंसिर । निजी शैक्षिक क्षेत्रको नेतृत्वमा स्थापित नाम बनाएका टिकाराम पुरी अब स्थानीय राजनीतिमा पनि सक्रिय हुने तयारीमा देखिएका छन् ।

विराटनगर महानगरपालिकाको आगामी निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका पुरीले कुन राजनीतिक दलबाट प्रतिस्पर्धा गर्ने भन्ने विषय भने खुलाएका छैनन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्वकेन्द्रीय अध्यक्ष पुरीले विराटनगरको विकास र स्वरूप परिवर्तनका लागि आफूले मेयरमा उम्मेदवारी दिने सोच बनाएको बताएका छन् । लामो समयदेखि शिक्षा, व्यवस्थापन र व्यावसायिक क्षेत्रमा सक्रिय पुरीको राजनीतिक प्रवेशको सम्भावनाले अहिले महानगरको राजनीतिक वृत्तमा समेत चासो बढाएको छ ।

नेकपा एमाले निकट रहेर प्रदेश कमिटी सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका पुरी केही समयअघि पार्टीले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै एमालेबाट बाहिरिएका थिए । अहिले उनी कुनै दलमा आबद्ध छैनन् ।

मेयरमा उम्मेदवारी दिने तयारीबारे कुन दल रोज्नुहुन्छ भन्ने प्रश्नमा पुरीले भने, ‘अहिले कसैसँग कुरा भएको छैन, समय आउँदै जाँदा बाँकी भनौँला ।’

उनको उम्मेदवारी कुन राजनीतिक दलबाट आउँछ भन्ने विषयमा विभिन्न अड्कलबाजी हुन थालेका छन् । एमालेमै फर्किएर उम्मेदवार बन्ने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धा गर्ने, कुनै राजनीतिक गठबन्धनको साझा उम्मेदवार बन्ने वा स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने भन्ने चर्चा चल्न थालेको छ । तर, पुरीले भने अहिलेसम्म कुनै दलसँग छलफल नभएको स्पष्ट पारेका छन् ।

‘कुनै कुरा भएको छैन, विराटनगरको मुहार फेर्न उम्मेदवारी दिने मन छ,’ उनले भने ।

को हुन् टिकाराम पुरी ?

टिकाराम पुरीको जन्म २०२३ वैशाख १ गते संखुवासभाको खाँदबारी–७, माल्टा खिप्रिङमा भएको हो । पदमलाल पुरी र अमृता पुरीका सन्तानका रूपमा जन्मिएका उनी हाल विराटनगर महानगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।

एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि २०४२ सालमा विराटनगर आएका पुरीले अध्ययनसँगै शिक्षण पेसा सुरु गरेका थिए । केही समय शिक्षण पेसामा बिताएपछि उनले एभरेस्ट सेकेन्डरी स्कुल सञ्चालनमा ल्याए । अहिले एभरेस्ट देशकै स्थापित निजी विद्यालयमध्ये एकका रूपमा परिचित छ ।

शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारका दृष्टिले अगाडि रहेको एभरेस्टको विकासमा पुरीको व्यवस्थापकीय क्षमता र नेतृत्वदायी भूमिका महत्वपूर्ण मानिन्छ । विद्यालयका प्रिन्सिपलसमेत रहेका उनी शैक्षिक क्षेत्रसँगै व्यवस्थापन र उद्यमशीलतामा पनि उत्तिकै सक्रिय छन् ।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सनको मोरङ जिल्ला सदस्यबाट संगठनात्मक यात्रा सुरु गरेका पुरीले जिल्ला सचिव र अध्यक्ष हुँदै केन्द्रीय नेतृत्वसम्मको जिम्मेवारी सम्हालेका छन् । २०५४ सालमा प्याब्सन मोरङको सदस्य बनेका उनी दुई कार्यकाल सचिव र दुई कार्यकाल जिल्ला अध्यक्ष भए । त्यसपछि दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष बनेका पुरी वरिष्ठ उपाध्यक्ष र अध्यक्ष पदमा एक–एक पटक निर्वाचनमा पराजित भएका थिए । अन्ततः उनी प्याब्सनको केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।

उपत्यकाबाहिरबाट पहिलोपटक प्याब्सनको केन्द्रीय नेतृत्वमा पुग्ने अवसर पाएका पुरीले संगठनको संस्थागत विकासमा महत्वपूर्ण योगदान गरेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ । उनको नेतृत्वकालमा निजी विद्यालयमैत्री कानुन निर्माणका लागि गरिएको नीतिगत पैरवी, संगठनको व्यवस्थापन तथा पूर्वाधार विकासलाई उपलब्धिका रूपमा लिने गरिएको छ ।

विशेषगरी कोभिड महामारीका बेला निजी विद्यालय र शैक्षिक क्षेत्रका समस्यालाई सम्बोधन गर्न उनले खेलेको भूमिका उल्लेखनीय रहेको विद्यालय सञ्चालकहरू बताउँछन् । प्याब्सनको संस्थागत सुदृढीकरणका लागि काठमाडौंको तीनकुनेमा तीनतले भवन खरिद गरी संगठनलाई व्यवस्थित बनाउने काम पनि उनको नेतृत्वकालको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

पुरीको नेतृत्व क्षमता र व्यवस्थापकीय शैलीलाई निजी विद्यालय सञ्चालकहरूले सकारात्मक रूपमा मूल्यांकन गर्ने गरेका छन् । प्याब्सनका नेता अर्जुन बस्नेत पुरीलाई कुशल संगठक र व्यवस्थापकका रूपमा चित्रण गर्छन् ।

‘टिकाराम पुरी एक कुशल संगठक, कुशल व्यवस्थापक मात्रै नभई दृढ इच्छाशक्ति र अब्बल भिजन भएको व्यक्ति हो,’ बस्नेत भन्छन्, ‘आफूले पाएका जिम्मेवारीलाई अत्यन्त कुशलतापूर्वक सफल बनाउन सक्ने व्यक्तिका रूपमा उहाँ परिचित हुनुहुन्छ ।’

उत्पादन र रोजगारी सिर्जनामा जोड

पुरीको व्यावसायिक सक्रियता शिक्षा क्षेत्रमा मात्रै सीमित छैन । शिक्षण संस्थासँगै उनले कृषि फार्मसमेत सञ्चालन गर्दै आएका छन् । मोरङमै विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्ने तयारीमा समेत उनी जुटेका छन् । यसका लागि एक चिनियाँ कम्पनीसँग समझदारीपत्र (एमओयू) समेत भइसकेको उनले बताएका छन् ।

उमेर पुगेका हरेक नेपालीले रोजगारी वा उत्पादनमूलक काममा जोडिन पाउनुपर्ने उनको मान्यता छ । युवालाई उत्पादनसँग जोड्ने र सबैले काम गर्न सक्ने वातावरण निर्माण गर्ने दायित्व राज्यको भएको उनी बताउँछन् । त्यसका लागि स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको तर्क छ ।

रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने वातावरण निर्माण गर्न सके मुलुकमा सम्भावना रहेको पुरीको विश्वास छ ।