विराटनगरमा खुल्यो जग्गाको कित्ताकाट, एक महिनाभित्र भू–सेवा सञ्चालन गर्ने महानगरको तयारी

विराटनगर २७ कात्तिक । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने भएको छ । भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि जग्गाको कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालय, विराटनगरमा पठाइसकेको छ । यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आज नापी कार्यालयलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो । नगर कार्यपालिकाको गत असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषदबाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको हो ।

महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्यांक फाइल र तथ्यांक भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ ।

भू–उपयोग वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउने तथा अन्य घरजग्गासम्बन्धी कामले अब सहजता पाउने विश्वास गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको र त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको बताउनुभयो । विराटनगरका १९ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा हुनु र कित्ताकाटको प्रक्रिया खुल्नु महानगर क्षेत्रको घरजग्गा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।