निर्वाचन लक्षित गर्दै मोरङमा मतदानस्थल र केन्द्र पुनरावलोकन

विराटनगर २० कात्तिक । आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङमा मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको आज बसेको बैठकले जिल्लाका विभिन्न मतदान केन्द्रको अवस्थाबारे छलफल गरेको छ ।

बैठकमा साँघुरा मतदान केन्द्रलाई व्यवस्थापन गर्ने, खुला स्थानमा रहेका मतदान केन्द्रलाई भवनमा सार्ने तथा नाम परिवर्तन भएका विद्यालयमा रहेका मतदानस्थलको विवरण अद्यावधिक गर्नुपर्ने सुझाव आएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार आजको बैठकमा मोरङका १० वटा स्थानीय तहका १९ वटा मतदान केन्द्रका विषयमा छलफल भएको थियो । छलफलका क्रममा मतदान केन्द्र साँघुरो भएको, मतदानस्थल खुला स्थानमा रहेको, केन्द्र समायोजन गर्नुपर्ने तथा मतदानस्थल सार्नुपर्ने विषय उठेको उनले जानकारी दिनुभयो । मतदानस्थल रहेका केही विद्यालय बन्द भएकाले अन्यत्र सार्नुपर्ने र विद्यालयको नाम परिवर्तन भएकाले अभिलेख सच्याउनुपर्ने सुझाव समेत आएको छ ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले मोरङमा हाल ३०६ वटा मतदानस्थल रहेको जानकारी दिँदै पुनरावलोकनपछि मतदानस्थल तथा मतदान केन्द्रको संख्या थपघट हुन सक्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

समितिले जिल्लाभरका मतदानस्थल तथा मतदान केन्द्रको अवस्थाबारे छलफल सम्पन्न गरी आवश्यक सुझावसहित निर्वाचन आयोगमा सिफारिस गर्ने तयारी गरेको छ ।