विराटनगर ३० असाेज । विराटनगरमा असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर सम्पन्न भएको छ।
असोज ३० गतेसम्म सञ्चालन भएको मेलामा करिब २० करोड रुपैयाँको कारोबार भएको र एक लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ।
समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजार माग घटिरहेको र उत्पादनमा समेत कमी आएको अवस्थामा फेयर सफल हुनु सकारात्मक भएको बताउनुभयाे। उहाँले मेलाले व्यापार व्यवसायलाई टेवा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा कमजोरी सुधार गरेर अघि बढ्न आयोजकलाई सुझाव दिनुभयाे ।
हरेक दसैँमा विराट व्यापार संघले आयोजना गर्ने मेला भन्ने पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै राउतले यस्ता कार्यक्रमले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयाे ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले फेयर राम्रो भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयाे ।
विराट व्यापार संघका अध्यक्ष प्रमाेद अग्रवालले विराटनगरको बजार विगतको तुलनामा सुधार हुँदै गएको बताउनुभयाे।
फेयर संयोजक श्यामप्रसाद पौडेल (भवेश) ले विराट ट्रेड फेयर व्यापार मेलामा मात्र सीमित नभई साना तथा मझौला व्यवसायलाई समेत चलायमान बनाउन सफल भएको बताउनुभयाे। उहाँले आगामी दिनमा पनि अझ उत्कृष्ट मेला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
ट्रेड फेयरमा १३० स्टल राखिएका थिए। तीमध्ये करिब १०० वटा व्यावसायिक स्टल थिए भने बाँकी ३० वटा स्टलमा खाद्य संस्थान, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय मोरङलगायतका संस्थाले आफ्ना सेवा तथा गतिविधि प्रस्तुत गरेका थिए।
समापन कार्यक्रममा संघका पूर्वअध्यक्ष सुजन थापालगायतको उपस्थिति थियो।