विराटनगर, २५ असोज । कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, २०८३ को सचिवालयले आज आयोजित पत्रकार भेटघाटमा सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरुबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने सम्मेलनले मद्दत गर्ने उल्लेख छ ।
संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पु¥याउने सम्मेलनमा प्रदेशहरुले गरेका अभ्यास र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव, सफल अभ्यास तथा साझा चुनौतीहरु बारे छलफल हुने बताइएको छ ।
संविधानप्रदत प्रदेशका अधिकारको प्रभावकारी प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानुनी तथा नीतिगत सुधार, वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र प्रदेशको स्रोत परिचालन लगायतका विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ ।
प्रदेशहरुबीच साझा हितका विकास आयोजना र तथा कार्यक्रमको पहिचान र कार्यान्वयन, अन्तरप्रदेशीय पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाँट, विपद् व्यवस्थापनमा सहकार्य तथा सुशासन र सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासाहरुको आदानप्रदानमा समेत सम्मेलनमा जोड दिइने छ ।
प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै नागरिकले अनुभूत गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्नु, विकासका उपलब्धिलाई जनतासम्म पु¥याउनु र प्रदेशहरुको आन्तरिक आय अभिवृद्धिका सम्भावनालाई उपयोग गर्नु सम्मेलनका महत्वपूर्ण उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्री, सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं प्रमुख सचिवहरुको सहभागित हुने सम्मेलनले एउटा साझा धारण निकाल्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले संघीय शासन प्रणालीलाई थप सुदृढ, परिणामुखी र नागरिकमैत्री बनाउन सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गर्दै सम्मेलनमा प्रस्तुत गरिने साझा एजेण्डा, प्रस्तावित कार्ययोजना र प्रतिबद्धतामार्फत प्रदेशहरुबीचको सहकार्यलाई नियमित, व्यवस्थित र परिणामुखी बनाउने दिशामा ठोस पहल गरिने कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले पत्रकारहरुले सोधेको प्रश्न र जिज्ञासालाई सम्बोधन गर्दै सम्मेलनलाई उपलब्धिमूलक बनाउँदै संघीयताको सुदृढीकरण, सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका साझा लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।