विराटनगर १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ। बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार (१९ र २० असोज) हुने कांग्रेसले जनाएको छ। निर्वाचनका लागि भने २१ र २२ असोजको मिति तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसका अनुसार महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । प्रवक्ता देवराज चालिसेका अनुसार यो कांग्रेसको इतिहासकै ठूलो महाधिवेशन हो। उनले यसपटकको महाधिवेशनलाई नेता चयनभन्दा नीति चयनको अधिवेशनका रूपमा अघि बढाउने प्रयास गरिने बता ए।
महाधिवेशन उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत दललाई निम्तो दिइएको छ। भारत, चीन, अमेरिकालगायत मुलुकबाट पनि पाहुना बोलाइएको कांग्रेसले जनाएको छ।
सोमबारदेखि हुने बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदन प्रस्तुत गरिनेछ । सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका विभिन्न क्षेत्रमा होटलको व्यवस्था गरिएको छ भने स्वास्थ्य सेवाका लागि ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क र आकस्मिक सेवाका लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिहरूको यातायात सहज बनाउन विभिन्न स्थानमा पार्किङको व्यवस्था पनि मिलाइएको कांग्रेसले जनाएको छ ।