विराटनगर १७ असाेज । सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ विराटनगरमा आजदेखि मञ्चन सुरु भएको छ।
कान्तिपुर थिएटरको प्रस्तुति रहेको नाटक विराटनगरस्थित वीरेन्द्र सभागृहमा मञ्चन भइरहेको हो।
दुई दिनसम्म सञ्चालन हुने नाटकका लागि छ वटा शो तय गरिएको छ। नाटक बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे मञ्चन हुनेछ।
करिब १ घण्टा ५० मिनेट लामो नाटकमा प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ।
नाटकमा अतित शर्माको भूमिकामा सागर खनाल र सायाको भूमिकामा वास्ना तिम्सिना मुख्य भूमिकामा छन्। त्यस्तै विनिता घिमिरे (सुश्मिता), ब्रबिम बस्नेत (किरण), रक्षा गौतम (प्रतीक्षा), सनम श्रेष्ठ (अनु) र जानकी बजगाईं (दिव्या) लगायतका कलाकारले अभिनय गरेका छन्।
नाटकको लेखन अर्पण थापाले गरेका हुन् भने निर्देशन सम्राट भुजेलको रहेको छ। निर्देशक भुजेलले ‘समर लभ’लाई प्रेम, समय, दूरी र सम्झनाबीचको भावनात्मक यात्राका रूपमा प्रस्तुत गरिएको बताउनुभयाे।
उपन्यासका लेखक सुविन भट्टराईले ‘समर लभ’ यसअघि काठमाडौंमा मात्रै केन्द्रित रहेकोमा पहिलोपटक विराटनगर ल्याइएको बताउनुभयाे। काठमाडौंले दिएको जस्तै माया विराटनगरबाट पनि पाउनेमा आफूहरू आशावादी रहेको उहाको भनाइ छ।
विराटनगरमा भएको पहिलो शोमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको थियो। विशेषगरी युवायुवतीको उल्लेख्य सहभागिता रहेको थियो। उपन्यास पढेका दर्शकसँगै नयाँ पुस्तामा समेत नाटकप्रति चासो देखिएको आयोजकले जनाएको छ।
