विराटनगर १४ असाेज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशन स्थलमा बुधबार झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताका क्रममा विवाद भएपछि झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल टिचिङ अस्पताल ल्याइएको छ ।
झडपका क्रममा घाइते भएका केहीलाई अस्पताल ल्याइए पनि घाइतेको संख्या भने खुलाइएको छैन । मनोनयन दर्ताका क्रममा विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । अहिले अधिवेशनस्थलको अवस्था सामान्य रहेको डीएसपी मिश्रले जानकारी दिए ।
प्रत्यक्षदर्शी एक क्षेत्रीय प्रतिनिधिका अनुसार प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषयमा विवाद सुरु भएको थियो । माइन्यूट लेख्ने क्रममा ती महिलाले आफ्नो नाम नपरेको विषयमा कुरा राखेपछि थप केही व्यक्तिहरू आएर तोडफोड गरेको उनले बताए ।
प्रत्यक्षदर्शीका अनुसार सोही क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार डा. डिला संग्रौला उठेर कोठाबाहिर निस्किएकी थिइन् । घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि समेत कुटपिट भएको बताइएको छ ।
झडपका क्रममा करिब ५० देखि ६० वटा कुर्सी तोडफोड भएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । झडपपछि अधिवेशनको निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको छ ।