विराटनगर १२ असोज । विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले सोमबार दिउँसो विभिन्न उमेर समूहका १७ महिलालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, उच्छृंखल गतिविधि गर्ने तथा सर्वसाधारणलाई हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बसपार्क क्षेत्रमा लागुऔषध सेवन गरी सार्वजनिक रूपमा होहल्ला गर्ने र सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेको गुनासो पटकपटक आएपछि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा महिलाहरूको पहिचान गरी नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । प्रहरीले सोमबार दिउँसो करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सबै महिलालाई वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ । बसपार्क क्षेत्रका साथै आसपासका विभिन्न होटलमा समेत प्रहरीले अनुगमन तथा निगरानी गरेको थियो । सोही क्रममा नियन्त्रणमा लिइएका महिलामाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताउनुभयो ।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्रसिंह गुरुको नेतृत्वमा खटिएको टोलीले महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।