विराटनगर, ११ असोज । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि कृष्णबहादुर कार्की र केशव गिरीले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सभापति पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो ।
निर्वाचन समितिका अनुसार कार्कीको उम्मेदवारीमा भोजराज निरौला प्रस्तावक र पंकज घिमिरे समर्थक रहेका छन् । त्यस्तै, गिरीको उम्मेदवारीमा पर्शुराम कटुवाल प्रस्तावक र शम्भु चौधरी समर्थक रहेका छन् ।
महानगर समितिको उपसभापति पदमा भने तीन जनाले उम्मेदवारी दिएका छन् । उपसभापतिमा शुभाषिस कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् भने महिला उपसभापति पदमा श्रुती शर्मा र कृष्णाकुमारी साह प्रतिस्पर्धामा छन् । महिला उपसभापति पदकी उम्मेदवार शर्माको प्रस्तावकमा गौरव भट्टराई र समर्थकमा अभिषेक भट्टराई रहेका छन् ।
नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बुका अनुसार विराटनगर महानगरपालिकाको नयाँ कार्यसमिति चयनका लागि पर्सि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी गरिएको छ । त्यसअघि भोलिसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरेर महानगरको निर्वाचन प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
महानगरको नयाँ कार्यसमिति चयनसँगै विराटनगर कांग्रेसको आगामी नेतृत्व संरचना तय हुनेछ । निर्वाचन समितिले उम्मेदवारी दर्तालगायतका प्रारम्भिक प्रक्रिया पूरा गरिसकेको छ भने अब मतदानको तयारी अघि बढाइएको छ ।