सुनसरीको देवानगन्जमा गोली प्रहारबाट एक युवक घाइते

विराटनगर ३ असाेज । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा शनिबार साँझ भएको गोली प्रहारबाट एक युवक घाइते भएका  छन् ।

वडा नम्बर १ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको गोली प्रहारबाट सोही ठाउँका २३ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको शरीरको पछाडि कम्मरमुनिको भागमा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर, पक्राउ परेकाको पहिचानसहितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

गाेली प्रहार पछि स्थानीयवासीले माेटरसाइकल सहित केही सवारीसाधनमा आगजनी गरेका छन् ।