देउवाद्वारा पार्टी एकताका लागि ७ बुँदे अपिल जारी, असोजको महाधिवेशनप्रति आपत्ति

विराटनगर ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

आज ७ बुँदे अपिल जारी गर्दै देउवाले पछिल्लो समय कांग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । अपिलमा देउवाले संस्थापन पक्षले पार्टीको विधि, विधान र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाएको आरोप लगाउनु भएको छ ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन गर्नु राजनीतिक, नैतिक र कानुनी दृष्टिले अनुपयुक्त रहेको उहाँको तर्क छ ।

विधिवत निर्वाचित सभापतिका रूपमा आगामी १५ औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै देउवाले आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको प्रस्ट पार्नुभयो ।